सर्लाही – पूर्वराष्ट्रपति डा. रामवरण यादवले व्यक्तिगत सफलता मात्र नभई देश र समाजका लागि उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरू नै वास्तविक अर्थमा सफल र कर्मयोगी हुने बताएका छन्। उनले समाज र राष्ट्र निर्माणमा योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई आगामी दिनमा पनि निरन्तर सक्रिय रहन आग्रह गरे।
ललितपुरमा आयोजित ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६’ को ग्रान्ड अवार्ड समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले विभिन्न व्यावसायिक तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व र संस्थाको सम्मानले सकारात्मक ऊर्जा प्रदान गर्ने बताए।

सिजन मिडियाको प्रस्तुतिमा आयोजित कार्यक्रममा नेपालसहित विभिन्न एसियाली मुलुकका उत्कृष्ट व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो। पूर्वराष्ट्रपति यादवले योगदान र उपलब्धिको कदर गर्ने यस्ता कार्यक्रमले समाजमा सकारात्मक काम गर्नेहरूलाई थप प्रोत्साहन मिल्ने धारणा व्यक्त गरे।
नेपालका लागि बाङ्लादेशका राजदूत मोहम्मद साफिकुर रहमानले अवार्ड कार्यक्रमले एसियाली समाजमा उत्कृष्टता, समर्पण र योगदानको सम्मान गर्नुका साथै युवासहित सबैलाई सामाजिक सेवामा प्रेरित गर्ने बताए। उनले यस्ता कार्यक्रमले नेपाल र बाङ्लादेशबीचको जनस्तरीय सम्बन्ध तथा सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने उल्लेख गरे।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफलता एकैपटक प्राप्त हुने नभई निरन्तरको मेहनत, लगनशीलता र प्रतिबद्धताको परिणाम भएको बताए। विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने आयोजकको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै उनले सम्मानित व्यक्तिहरूलाई समाजप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै आगामी दिनमा पनि सक्रिय रहन आग्रह गरे।





