एजेन्सी – भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सालाई सदस्य राष्ट्रबीचको स्वास्थ्य सहकार्यको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने निर्णय गरेको छ ।
नयाँदिल्ली घोषणापत्रमार्फत ब्रिक्स स्वास्थ्य ट्र्याकअन्तर्गत टीसीआईएम सम्बन्धी विज्ञ कार्यसमूह गठन गर्ने प्रस्तावलाई स्वागत गरिएको हो । भारतको आयुष मन्त्रालयका अनुसार प्रस्तावित कार्यसमूहले ब्रिक्स सदस्य राष्ट्रहरूबीच परम्परागत चिकित्सासम्बन्धी संवाद, अनुसन्धान, ज्ञान आदानप्रदान र नीतिगत सहकार्यका लागि संस्थागत संयन्त्रको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

भारतका आयुष मन्त्री प्रतापराव जाधवले घोषणापत्रमा टीसीआईएमलाई समेटिनु परम्परागत चिकित्सामा विश्वव्यापी सहकार्यलाई बलियो बनाउने महत्त्वपूर्ण कदम भएको बताएका छन् । उनका अनुसार प्रस्तावित कार्यसमूहले सदस्य राष्ट्रहरूलाई अनुसन्धान विस्तार, प्रमाणमा आधारित अभ्यास प्रवद्र्धन तथा अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गर्नेछ ।
उनले आयुर्वेदसहित अन्य आयुष प्रणालीलाई वैज्ञानिक अनुसन्धान, गुणस्तर सुनिश्चितता र अन्तर्राष्ट्रिय सहकार्यमार्फत सुरक्षित, प्रभावकारी र किफायती स्वास्थ्य सेवामा योगदान गर्ने दिशामा भारत प्रतिबद्ध रहेको उल्लेख गरे । आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले पनि कार्यसमूहले अनुसन्धान सहकार्य, प्रमाण संकलन, गुणस्तर मापदण्ड तथा नियामकीय अभ्यासमा केन्द्रित सहकार्यलाई संस्थागत रूप दिन सक्ने बताए ।
औषधीय वनस्पतिमा संयुक्त अनुसन्धान
घोषणापत्रले उपचारात्मक तथा रोग रोकथामका उद्देश्यले प्रयोग हुने औषधीय वनस्पति र जडीबुटीजन्य तयारीमा संयुक्त अनुसन्धान बढाउन विशेष जोड दिएको छ । ब्रिक्स राष्ट्रहरूको साझा परम्परागत औषधीय ज्ञान सुरक्षित, प्रभावकारी र किफायती उपचार सामग्री विकासका लागि आधार बन्न सक्ने दस्तावेजमा उल्लेख गरिएको छ ।
यससँगै सदस्य राष्ट्रहरूको राष्ट्रिय सन्दर्भअनुसार गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न प्रमाणमा आधारित नियामकीय व्यवस्था सुदृढ बनाउनुपर्ने आवश्यकता पनि घोषणापत्रले औंल्याएको छ ।
चण्डीगढ बैठकबाट बनेको आधार
यो पहल भारतको ब्रिक्स अध्यक्षताका क्रममा गत जुलाई २१ मा चण्डीगढमा आयोजित टीसीआईएम बैठकको निरन्तरता हो । उक्त बैठकमा सदस्य राष्ट्रका सरकारी अधिकारी, प्राविधिक विज्ञ र प्रतिनिधिहरूले अनुसन्धान, शिक्षा, ज्ञान आदानप्रदान तथा नियामकीय सहकार्यका विषयमा सहमति गरेका थिए । त्यही बैठकले प्रस्तावित विज्ञ कार्यसमूहको कार्यादेशमा पनि सहमति जुटाएको थियो ।
विश्व स्वास्थ्य संगठनको रणनीतिसँग मेल
यो निर्णय विश्व स्वास्थ्य संगठनको २०२५–२०३४ को विश्व परम्परागत चिकित्सा रणनीतिसँग पनि मेल खाने मानिएको छ । उक्त रणनीतिले परम्परागत चिकित्सामा वैज्ञानिक प्रमाणको आधार बलियो बनाउने, गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने तथा स्वास्थ्य प्रणालीमा उपयुक्त रूपमा समावेश गर्ने लक्ष्य अघि सारेको छ ।
आयुष मन्त्रालयका अनुसार नयाँदिल्ली घोषणापत्रले टीसीआईएमलाई ब्रिक्स स्वास्थ्य ट्र्याकसँग जोड्दै सार्वभौमिक स्वास्थ्य पहुँच अनुसन्धान, गुणस्तर, सुरक्षा र प्रभावकारितासँग सम्बन्धित दीर्घकालीन सहकार्यका लागि आधार तयार गरेको छ । – एएनआई, नेपाल न्यूज बैंक





