सर्लाहीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

२०८३ भाद्र २९, सोमबार १७:५६

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका – १२ स्थित चमेलीमाई मन्दिर नजिकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको सोनवर्षा बस्ने २८ वर्षीय नवीन कुमारलाई पक्राउ गरिएको हो।

प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा जाँच गर्ने क्रममा भारतीय नम्बर प्लेट बिआर ३० एटि ८९६१ को २२० सीसी पल्सर मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा फेला पारेको थियो।

मोटरसाइकलको ट्याङ्कीमाथि रहेको रातो कपडाको झोला जाँच गर्दा एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले नवीन कुमारलाई नियन्त्रणमा लिएर उनीविरुद्ध हातहतियारसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट कटुवा पेस्तोल र गोलीबाहेक रेडमी कम्पनीको मोबाइल एक थान, मोटो जी ९६ ५ जी कम्पनीको स्क्रिन टच मोबाइल एक थान तथा भारतीय नम्बर बिआर ३० एटि ८९६१ को मोटरसाइकलसमेत बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार