मलंगवा – सर्लाहीको बरहथवा नगरपालिका – ३ सानो खुरखोटीमा भर्याङबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गणेश माझीकी श्रीमती ४० वर्षीया सुनिता माझी रहेकी छन्।
प्रहरीका अनुसार मंगलबार राति करिब २ः३० बजेको समयमा सुनिता आफ्नै काठ र टालीको छानो भएको एकतले कच्ची घरको भर्याङ चढ्ने क्रममा अचानक लडेकी थिइन्। भर्याङबाट लड्दा उनको टाउकोमा चोट लागेको थियो।

घाइते भएकी उनलाई तत्काल बरहथवास्थित नगर अस्पतालमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि परवानीपुर, बारास्थित एलएस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले ईसीजी परीक्षण गर्दा मृत घोषणा गरेका थिए।
यसैबीच, मृतकका आफन्तले पुनः स्वास्थ्य परीक्षण गराउन बिहान करिब ७ः४५ बजे उनलाई वीरगन्जस्थित नारायणी अस्पताल लगेका थिए। नारायणी अस्पतालमा बिहान ८ः०५ बजे ईसीजी परीक्षण गर्दा चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेको प्रहरीले जनाएको छ।





