सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना घाइते

२०८३ भाद्र ३०, मंगलवार १९:३१
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको बागमती नगरपालिका – ४ गोले टोलस्थित च्याउ कारखाना क्षेत्रमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार साँझ करिब ५ः३० बजे चट्याङ पर्दा बागमती नगरपालिका – ४ गोले टोलका एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका हुन्।

चट्याङ लागेर घाइते भएकी ठाकुरसिंह मोक्तानकी १२ वर्षीया छोरी दिना मोक्तानको बागमती मोडल अस्पतालमा उपचारका क्रममा साँझ ६ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, सोही स्थानका हस्तबहादुर बोम्जनकी ११ वर्षीया छोरी प्रितिमा बोम्जन पनि चट्याङबाट घाइते भएकी छन्। उनको शरीरको भित्री भागमा चोट लाग्नुका साथै शरीरमा कालो दाग देखिएको प्रहरीले जनाएको छ। बागमती मोडल अस्पतालमा उपचाररत उनलाई थप उपचारका लागि साँझ ६ः४३ बजे वीरगन्जस्थित स्पर्स अस्पतालमा रिफर गरिएको छ।

त्यस्तै, बागमती नगरपालिका – ४ कै ४२ वर्षीय पोशाकबहादुर वाइबा पनि चट्याङबाट घाइते भएका छन्। उनको कर्मैयास्थित सभ्यता हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। चट्याङपछि दुवै कानले नसुन्ने अवस्थामा रहेका उनको अवस्था मध्यम रहेको छ।

घटनाबारे थप विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार