सर्लाहीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

२०८३ भाद्र ३०, मंगलवार २१:००

मलंगवा – सर्लाहीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ५ः५० बजे कबिलासी नगरपालिका – ७ सिर्सियास्थित मलंगवा –नवलपुर सडकखण्डमा कबिलासीबाट गैरतर्फ जाँदै गरेको म.प्र.०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बिआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा बिआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल चालक कबिलासी नगरपालिका – ८ का २६ वर्षीय पप्पु पासवान र म.प्र.०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका – ६ का ३० वर्षीय सुमित यादवको मृत्यु भएको छ।

दुर्घटनापछि दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा साँझ ७ः४९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूको शव प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार कबिलासी नगरपालिका – ८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलंगवा नगरपालिका – ६ का १८ वर्षीय बब्लु कुमार पासवान पनि घाइते भएका छन्।

सुरेन्द्रको टाउको र दाहिने खुट्टामा तथा बब्लुको अनुहार र टाउकोमा चोट लागेको थियो। दुवैलाई प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुरतर्फ रिफर गरिएको छ।

दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार