सर्लाही – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीमा जुवा खेलिरहेको अवस्थामा सर्लाहीकी एक महिलासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ २९ गते साँझ करिब ५ बजे मूलपानीस्थित एक खाजा घरमा जुवा (ओखर) खेल भइरहेको गोप्य सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले छापा मारेको थियो। प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गर्नुका साथै घटनास्थलबाट २१ वटा ओखर र नगद ७९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा उक्त खाजा घरकी सञ्चालिका सर्लाहीको लालबन्दी नगरपालिका घर भई हाल कागेश्वरी मनोहरा–६, मूलपानी बस्दै आएकी ५० वर्षीया टेकु कुमारी थापा मगरसहित अन्य ७ जना रहेका छन्।
पक्राउ पर्नेमा ४० वर्षीया टासी लामा, ४८ वर्षीय विमल सेढाईं, ३४ वर्षीया अञ्जली पुडासैनी, ५४ वर्षीया राधा पौडेल, ५० वर्षीय विजय कुमार दर्लामी, ४३ वर्षीय प्रदिप तामाङ र ४७ वर्षीय आईत राज थेबे रहेका छन्।
पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।





