धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी, मुख्य प्रतिवादी कारागार चलान

२०८३ आश्विन १, बिहीबार १०:०५
सांकेतिक तस्बिर

सर्लाही – धनुषामा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

धनुषा जिल्ला अदालतले भदौ २६ गते २३ वर्षीय राइनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनालाई २० लाख रुपैयाँमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् । धनुषा जिल्ला अदालतले सोमबार उनलाई धरौटीमा छाड्ने आदेश दिएपछि कवारीले धरौटी रकम बुझाएर छुटेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका राइन कतार पुगेका थिए । उनलाई इन्टरपोलमार्फत पक्राउ गरी गत साउन २५ गते नेपाल ल्याइएको थियो । पीडित बालिकाको बयानका आधारमा वडाध्यक्ष कवारीलाई पनि धनुषा प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।

धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई घरबाट अपहरण गरी जनकपुरका होटलमा लगेर १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा राइनसहितका व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो । घटनामा दुई जना प्रहरीसमेत संलग्न रहेको आरोप छ ।

यस घटनासम्बन्धी धनुषा जिल्ला अदालतमा मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीका दुई छुट्टाछुट्टै मुद्दा दर्ता छन् । ती मुद्दामा दुई प्रहरीसहित करिब एक दर्जन प्रतिवादी रहेको प्रहरीले जनाएको छ । अधिकांश प्रतिवादी अझै फरार छन् ।

मुद्दाको मिसिलअनुसार २०८१ चैत २९ गते आमा खेतमा गएको समयमा घरनजिकै पसल सञ्चालन गर्दै आएका स्थानीय ताहिर राइनले विवाह गर्ने प्रलोभन देखाएर बालिकालाई अपहरण गरेको आरोप छ । त्यसपछि उनलाई जनकपुर ल्याएर राइनसहित अन्य व्यक्तिले जबरजस्ती करणी गरेको र विभिन्न होटलमा लगेर बेचबिखन गरेको अभियोग लगाइएको छ ।

बालिका त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएकी थिइन् । उनले २०८२ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् । तर जाहेरीमाथि समयमै अनुसन्धान अघि नबढेको र त्यसबीच राइन विदेश फरार भएको आरोप पीडित पक्षले लगाएको छ ।

त्यसपछि २०८२ असार १७ गते बिहान करिब ४ बजे बालिका पुनः अपहरणमा परेको जाहेरीमा उल्लेख छ । बाख्रा बाँध्न घरको दैलोमा निस्किएको समयमा गाडीमा आएका अञ्जली महरासहित तीन जनाले कपडाले आँखामा पट्टी बाँधेर अपहरण गरेको जाहेरीमा दाबी गरिएको छ ।

जाहेरीअनुसार बालिकालाई जनकपुरको पिडारीचोकस्थित होटल सीएफसीमा दुई दिन राखिएको थियो । त्यसपछि मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिनसम्म बन्धक बनाइएको आरोप छ । होटल सञ्चालकसहितका प्रतिवादीले बालिकामाथि जबरजस्ती करणी गरेको र ग्राहकबाट समेत पैसा लिएर करणी गर्न लगाएको अभियोगसमेत मुद्दाको मिसिलमा उल्लेख छ ।

घटनापछि चौतर्फी दबाब र सुरक्षाको कारण बालिका अझै सेफ हाउसमा रहेको बताइएको छ । – नेपाल न्यूज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार