सर्लाही – धनुषामा खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाधाम नगरपालिका–८ स्थित धारापानी बजारमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय यज्ञभूमि र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चेकजाँचका क्रममा सिरहाको बरियारपट्टी गाउँपालिका–२ का २६ वर्षीय नितेश कुमार महतो र १६ वर्षीय एक बालकको साथबाट खैरो हेरोइनजस्तो देखिने २७ दशमलव ९१० ग्राम पदार्थ बरामद भएको छ।
प्रहरीले बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ। बरामद पदार्थ लागुऔषध नै भए नभएको यकिन गर्न आवश्यक परीक्षणसमेत भइरहेको प्रहरीले जनाएको छ।





