सर्लाहीमा विभिन्न मुद्दाका २० फरार प्रतिवादी पक्राउ

२०८३ आश्विन २, शुक्रबार २०:३१

मलंगवा – सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका २० जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका प्रहरी टोलीले अदालतबाट दण्ड सजाय तोकिएका तर वारदातपछि फरार रहेका प्रतिवादीहरूको खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले बिहिबार र शुक्रबार उनीहरूलाई पक्राउ गरी शुक्रबार सर्लाही जिल्ला अदालतमा दाखिला गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरू विभिन्न ११ वटा मुद्दामा संलग्न रहेको अदालतको अभिलेखमा उल्लेख छ।

पक्राउ परेकामध्ये अपमानजनक वा अमानवीय व्यवहार मुद्दाका एक जनालाई ५० हजार रुपैयाँ जरिवाना, सवारी ज्यान मुद्दाका एक जनालाई ४० हजार रुपैयाँ र चेक अनादर मुद्दाका दुई जनालाई जनही २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यस्तै, ज्यान मार्ने उद्योग मुद्दाका दुई जना पक्राउ परेका छन्। उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ। बैंकिङ कसुर मुद्दाका एक जनालाई एक महिना कैद तथा १२ लाख रुपैयाँ जरिवाना तोकिएको छ।

बहुविवाह मुद्दाका एक जनालाई ५० हजार रुपैयाँ, कुटपिट लुटपाट मुद्दाका सात जनालाई जनही ३ हजार ५ सय रुपैयाँ तथा ज्यानसम्बन्धी कसुरका एक जनालाई दुई महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यसैगरी, नागरिकता किर्ते मुद्दाका दुई जनालाई एक वर्ष ६ महिना कैद सजाय तोकिएको छ। बिगो मुद्दामा एक जनालाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने अर्को बहुविवाह मुद्दा भने चालु अवस्थामा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै २० जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष ( डिएसपी ) वेद प्रसाद गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार