सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो संविधान दिवस

२०८३ आश्विन ३, शनिबार १७:०७

मलंगवा – सर्लाहीमा पनि विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको छ। दिवसको अवसरमा शनिबार जिल्ला सदरमुकाम मलंगवामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच २ माइल खुला दौड प्रतियोगिता तथा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो।

दिवसकै अवसरमा आयोजित २ माइल खुला दौड प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी सहभागी भएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कर्मचारीलाई नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

यसैगरी, संविधान दिवसको अवसरमा प्रभातफेरीसमेत निकालिएको थियो। विभिन्न कार्यक्रममार्फत संविधानको महत्व, राष्ट्रिय एकता तथा संवैधानिक व्यवस्थाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दिवस मनाइएको आयोजकले जनाएको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र कुमार महतो, मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादव, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुबेदीलगायतको उपस्थिति रहेको थियो।

त्यस्तै कालिध्वज गण ५ कुमारी ब्यारेक नवलपुरका प्रमुख सेनानी उमेश खड्का, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेल तथा सशस्त्र प्रहरी बल नेपाल नं. १० हे.क्वा. सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीलगायत सुरक्षा निकायका अधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार