सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु, अर्का एक जना घाईते

२०८३ आश्विन ३, शनिबार २०:४१
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका – ११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् ।

शनिबार साँझ करिब ७ः१५ बजे गम्हरियाबाट मलंगवातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–०३–०१९ प ३०७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरी चौकी पेट्रोल पम्प, सर्लाहीबाट प्रहरी सहायक निरीक्षक अकिल खड्काको कमाण्डमा खटिएको टोलीले घाइते दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको थियो ।

दुर्घटनामा मलंगवा नगरपालिका – ११ गम्हरिया निवासी करिब ७० वर्षीय बालमिकी राय यादवको टाउको र नाकबाट रगत आएको तथा दाहिने खुट्टाको हड्डी भाँचिएको अवस्थामा अस्पताल लगिएको थियो । साँझ ७ः२५ बजे चिकित्सकले ईसीजी परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए ।

त्यस्तै, मलंगवा नगरपालिका – ४ निवासी करिब ५९ वर्षीय साइकलयात्री महेश महतोको कमर र दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक कबिलासी नगरपालिका – ६ निवासी करिब ५० वर्षीय रामलोचन राय र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार