लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका – १२, जियाजोरमा पोखरीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला परेका छन् । लालबन्दी नगरपालिका – ११, हीरापुरका १५ वर्षीय राजु ठाकुर आइतबार अपराह्न करिब ४ः१५ बजेदेखि पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
लखन्देही खोला पारी निजी जग्गामा खनिएको खाल्डोमा जमेको पानीमा सोमबार डुबेर बेपत्ता भएका राजुको शव सोमबार दिउँसो करिब साढे १२ बजे फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले डुङ्गा तथा बाँसको सहायतामा खोजी गर्दा राजुको शव पानीबाट निकालिएको हो ।

खोजीका लागि सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीको नेतृत्वमा सात जना गोताखोरको टोली सोमबार बिहान घटनास्थल पुगेको थियो ।
यसअघि आइतबार साँझ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब तीन घण्टासम्म खोजी गरे पनि राजु फेला परेका थिएनन् । सोमबार बिहानैदेखि पुनः गोताखोर टोली परिचालन गरेर खोजी गर्दा उनी मृत अवस्थामा भेटिएका हुन् ।
अहिले मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।





