मलंगवा – सर्लाहीमा विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लागूऔषध मुद्दाका २ जना, धर्मसम्बन्धी कसुरमा अपमानजनक तथा अमानवीय व्यवहार गरेको मुद्दाका २ जना, कुटपिट तथा अंगभंग मुद्दाका १ जना र अभद्र व्यवहार मुद्दाका १ जना रहेका छन्।
पक्राउ परेका ६ जनाको हकमा अदालतले तोकेको कुल जरिवाना रकम १ लाख ९१ हजार ३०० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीले पक्राउ परेका सबैलाई सर्लाही जिल्ला अदालतमा दाखिला गरेको जनाएको छ।





