सर्लाही – रौतहटको ग्रामीण तथा वैकल्पिक बाटो प्रयोग गरी तीन नेपाली किशोरीलाई भारततर्फ लैजान खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको बिहारस्थित पूर्वीचम्पारण जिल्लाको कुण्डवा चैनपुरबाट २३ वर्षीय सलाउद्दीन अन्सारी पक्राउ परेका हुन्।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले परिवारलाई जानकारी नदिई मकवानपुरका तीन किशोरीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भारतीय प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा वीरगञ्ज–रक्सौल तथा गौर नाकामा सुरक्षा निगरानी कडा रहेकाले अन्सारीले किशोरीहरूलाई ग्रामीण तथा वैकल्पिक बाटो हुँदै भारत प्रवेश गराउन खोजेको खुलेको प्रहरीले जनाएको छ। किशोरीहरूलाई प्रलोभनमा पारेर भारत लैजान खोजिएको हुन सक्ने आशंकामा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
उद्धार गरिएका तीनै जना मकवानपुरको राईगाउँका रहेको प्रहरीले जनाएको छ। उनीहरूमा १५ वर्षीया ज्योशा राई, १६ वर्षीया नवीना परियार र १७ वर्षीया मनीषा विष्ट रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका अन्सारीको साथबाट एउटा इलेक्ट्रिक स्कुटर, पाँच थान मोबाइल, आधार कार्ड, प्यान कार्ड, नेपाली रुपैयाँ ५१० र भारतीय रुपैयाँ ५२० बरामद भएको छ। उनी पूर्वीचम्पारणको ढाका थाना क्षेत्रअन्तर्गत हारूनी गाउँका बासिन्दा रहेको बताइएको छ।
मोतीहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातले अदालतबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उद्धार गरिएका किशोरीलाई नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइने बताएका छन्। उनका अनुसार आरोपीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले पनि घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै भारतीय प्रहरीसँग समन्वय भइरहेको बताए। भारततर्फको कानुनी प्रक्रिया पूरा भएपछि किशोरीहरूलाई जिल्ला प्रहरी कार्यालय गौरमा ल्याएर अभिभावकको जिम्मा लगाइने उनले जानकारी दिए।





