मलंगवा – सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको हरिवन नगरपालिका – ९ स्थित पूर्व जाने बस काउन्टर पछाडि विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।
आईतबार इलाका प्रहरी कार्यालय हरिवन र लागूऔषध नियन्त्रण ब्युरो बर्दिवास, महोत्तरीबाट खटिएको संयुक्त टोलीले बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको ‘अन टेस्ट’ एफजेड मोटरसाइकल रोकी जाँच गर्दा प्लास्टिकको बोरा तथा झोलामा लुकाइछिपाइ राखिएको लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्पास ग्लेनपारा लेखिएको २ हजार १४ पिस, एन्टिकफ लेखिएको ३ हजार ५ सय ६ पिस, मेफ्टाल स्पास लेखिएको १ हजार ५ सय पिस र टापेन्टाडोल लेखिएको ३ हजार ५ सय १४ पिस गरी जम्मा १० हजार ५ सय ३४ पिस लागूऔषध ट्याब्लेट बरामद भएको छ।
त्यसैगरी, सोही दिन बागमती नगरपालिका – ४ सानो डाबरी क्षेत्रमा सञ्चालन गरिएको ‘कर्डन एन्ड सर्च’ अप्रेसनका क्रममा कोडिन फस्फेट ट्रिप्रोलिडिन हाइड्रोक्लोराइड सिरप ओनेरेक्स लेखिएको सिलप्याक ४ बोतल र ओनेरेक्स ३२ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१० सोल्टी बजार बस्ने ४४ वर्षीय प्रदीप महतो, मोटरसाइकलमा पछाडि सवार रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराही टोल बस्ने २८ वर्षीय सुरज थापा र सर्लाहीको हरिवन नगरपालिका – ४ डाबरी बस्ने २६ वर्षीय कुलबहादुर वर्मा रहेका छन्।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा म्याद थप गरी इलाका प्रहरी कार्यालय हरिवनबाट थप अनुसन्धान भइरहेको प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्ष ( डिएसपी ) वेद प्रसाद गौतमले जानकारी दिए ।





