देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

२०८३ आश्विन ६, मंगलवार १८:५५

सर्लाही – मौसम पूर्वानुमान महाशाखाले आगामी असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ। महाशाखाले मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै बुधबारदेखि नै वर्षाको गतिविधि क्रमशः बढ्ने पूर्वानुमान गरेको हो।

महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भू–भाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्ने सम्भावना रहेकाले त्यसको प्रभाव नेपालमा पर्ने देखिएको महाशाखाले जनाएको छ।

यसको प्रभावबाट बुधबारदेखि कोसी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ। असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, मधेस प्रदेशसहित कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। वर्षाका कारण हिमाली क्षेत्रमा भारी हिमपातसमेत हुनसक्ने भएकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा जाने अन्य व्यक्तिलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार