सर्लाहीको दशगजा क्षेत्रमा एक बृद्व मृत फेला

२०८३ आश्विन ८, बिहीबार २१:४४
file image

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका – ९ स्थित दशगजा क्षेत्रमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार बिहिबार दिउँसो करिब २ः४० बजे मलंगवा – ९ लच्का दशगजा क्षेत्रमा नेपालतर्फको छेउमा अन्दाजी ६०–६५ वर्ष उमेरका पुरुष मृत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो।

सूचना पाएलगत्तै प्रहरी चौकी गोरखकालीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमको कमाण्डमा सोकोसहितको अनुसन्धान टोली घटनास्थल पुगेको थियो।

अनुसन्धानका क्रममा मृतकको साथमा भेटिएको कागजपत्र तथा घटनास्थल नजिकको सीसीटीभी फुटेजका आधारमा मृतकको पहिचान सर्लाहीको चन्द्रनगर गाउँपालिका – ४ बस्ने अन्दाजी ७० वर्षीय नन्दलाल मण्डल खत्वेको रूपमा खुलेको प्रहरीले जनाएको छ। मृतककी श्रीमतीले समेत शवको सनाखत गरेकी छन्।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार