मलंगवा – आर्थिक वर्ष २०८३/०८४ सुरु भएको दुई महिना बितिसक्दा सर्लाहीका २० स्थानीय तहमध्ये १० वटा स्थानीय तहको खाता सञ्चालनमा आएको छ। असोजको पहिलो सातासम्म जिल्लाका बाँकी १० स्थानीय तहको भने खाता सञ्चालनमा आउन सकेको छैन।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख पदमप्रसाद पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा स्थानीय तहले विभिन्न स्रोतबाट प्राप्त रकमको खर्च तथा बाँकी रकमको हिसाब समयमै मिलान नगर्दा चालु आर्थिक वर्षको खाता सञ्चालनमा समस्या देखिएको हो।

हालसम्म रामनगर, धनकौल, बसबरिया, विष्णु, कोडैना र ब्रह्मपुरी गाउँपालिका तथा बलरा, मलंगवा, हरिवन र बागमती नगरपालिकाको खाता सञ्चालनमा आएको छ।
स्थानीय तहले स्रोतगत रूपमा भएको खर्चको विवरण व्यवस्थापन गर्नुपर्ने, खर्च हुन नसकेको रकम समयमै फिर्ता गर्नुपर्ने तथा अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणसमेत मिलान गर्नुपर्ने हुन्छ। यी प्रक्रिया पूरा नभए नयाँ आर्थिक वर्षमा रकम निकासा गर्न समस्या हुने कोलेनिका सर्लाहीले जनाएको छ।
सर्लाहीमा २० स्थानीय तह छन्। तीमध्ये ११ नगरपालिका र ९ गाउँपालिका रहेका छन्। अघिल्लो आर्थिक वर्षको हिसाब मिलानलगायतका आवश्यक प्रक्रिया पूरा नगरेका बाँकी स्थानीय तहको खाता भने असोजको पहिलो सातासम्म सञ्चालनमा आउन नसकेको कोलेनिका सर्लाहीले जनाएको छ।





