सर्लाही – अर्थमन्त्री स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा प्रस्थान गरेका छन् ।
मन्त्री वाग्लेसँग अर्थ मन्त्रालयको आर्थिक सम्बन्ध महाशाखा प्रमुख अमृत लम्साल पनि दोहा गएका छन् । बैठकका क्रममा वाग्लेले नेपालको पूर्वाधार विकाससँगै जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

दोहा बसाइका क्रममा अर्थमन्त्री वाग्लेले भारत, बंगलादेश र माल्दिभ्सका समकक्षीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको बताइएको छ । ती भेटमा नेपालसँग सम्बन्धित आर्थिक तथा विकासका विषयमा छलफल हुने जनाइएको छ ।
मन्त्री वाग्ले असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।





