सर्लाही – देशका विभिन्न क्षेत्रमा पछिल्ला चार दिनमा बाढी, पहिरो तथा डुबानलगायत विपद्का घटनामा परी १५ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार विपद्का घटनाबाट बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको ज्यान गएको हो ।

विपद्का घटनामा चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस अवधिमा बाढी, पहिरो र डुबानमा फसेका १ हजार २८४ जनालाई उद्धार गरिएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित बनाउने कामसमेत जारी रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार विपद् प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा स्थानीयवासीसँगको समन्वयमा उद्धार, खोज तथा राहतका काम भइरहेका छन् । जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन सुरक्षा निकाय परिचालन गरिएको छ ।





