सर्लाहीमा करेन्ट लागेर एक किशोरको मृत्यु

२०८३ आश्विन ११, आइतवार २०:२७
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीमा करेन्ट लागेर एक १३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार दिउँसो करिब २ः३० बजे ब्रह्मपुरी गाउँपालिका–५ पडरियास्थित हिरेन्द्र राउतको खेतमा घटना भएको हो।

प्रहरीका अनुसार स्थानीय नन्टुन पासवानका छोरा १३ वर्षीय आयुष पासवान खेतमा हिँड्दै जाने क्रममा मोटरबाट पानी लगाउनका लागि राखिएको विद्युत्को नाङ्गो तारमा परेका थिए। तारमा परेपछि करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पर्साबाट प्रहरी नायव निरीक्षक अजयकुमार रामको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको कमाण्डमा सोकोसहितको प्रहरी टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार