ताल्चा फुटाएर चोरी गर्दै गर्दा देखेपछि वृद्धाको हत्या, तीन जना पक्राउ

२०८३ आश्विन ११, आइतवार २०:३४

सर्लाही – पर्साको धोबनी गाउँपालिकामा चोरी गर्ने क्रममा भेउ पाएपछि वृद्ध महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धोबनी गाउँपालिका–५ का चन्दन कुमार, राजकपुर बैठा र रामु पासवान रहेका छन्। प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत ५ गते राति धोबनी गाउँपालिका–५ निवासी श्रीनिवास साह तुरहाको घरमा तीनै जनाले चोरी गरेका थिए। घरको ताल्चा फुटाएर चोरी गरिरहेको आवाज सुनेपछि ६२ वर्षीया लखरजिया देवी दोस्रो तल्लातर्फ जान लागेकी थिइन्। सोही क्रममा उनले चोरी भइरहेको थाहा पाएपछि तीनै जनाले मिलेर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका तीनै जनाले प्रहरीसमक्ष गाँजा सेवन गरेको अवस्थामा चोरी गर्न गएको र वृद्ध महिलाले चोरीको भेउ पाएपछि हत्या गरेको बयान दिएको पर्सा प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए। प्रहरीले उनीहरूको साथबाट चोरी भएको नगद रकम तथा गरगहनासमेत बरामद गरेको जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार