सर्लाही – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ससुराको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार २०८२ साउन ११ गते बेलुका करिब ८ बजे जुनीचाँदे गाउँपालिका – ५ पाँगा बस्ने ५७ वर्षीय गंगाराम शाही आफ्नै घरको सिँढी नजिक छेउमा बाँया पट्टिको घाँटीमा धारिलो वस्तुले प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए।

घटनास्थलमा धारिलो वस्तु हँसिया ( खूर्पा ) समेत फेला परेको थियो। घटनाबारे अनुसन्धान गर्ने क्रममा मृतककी माइली बुहारी सर्मिला शाहीको संलग्नता रहेको खुलेपछि मृतकका जेठा छोरा राजकुमार शाहीले २०८२ असोज ७ गते किटानी जाहेरी दिएका थिए।
जाहेरीका आधारमा प्रहरीले पक्राउ अनुमति लिएर सर्मिला शाहीलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ। पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएपछि उनलाई २०८२ असोज ८ गते जिल्ला अदालत जाजरकोटमा उपस्थित गराइएको थियो।
अदालतबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा पहिलो पटक १० दिनको म्याद थप गरि थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।





