सर्लाहीमा गोली हानी हत्या गरेर फरार रहेका पासवान झण्डै १८ वर्षपछि पक्राउ

२०८३ आश्विन १४, बुधबार १७:१८

मलंगवा – सर्लाहीमा झण्डै १८ वर्षअघि गोली हानी हत्या गरिएको घटनाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको कपटोल स्थायी घर भई सर्लाहीको साविक नेत्रगञ्ज गाविस – २ तथा हाल लालबन्दी नगरपालिका – २ बस्दै आएका इन्दल पासवान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०६५ साल फागुन १२ गते दिउँसो करिब ३ बजे साविक नेत्रगञ्ज गाविस – २ का वीरेन पासवान चिताइन मेला हेर्न जाने भन्दै घरबाट निस्किएका थिए। उनी राति करिब १० बजे नेत्रगञ्ज – २ स्थित खाली जग्गामा छातीमा गोली लागेको अवस्थामा मृत फेला परेका थिए।

घटनाको अनुसन्धानका क्रममा वीरेनको हत्यामा इन्दल पासवानसहितका व्यक्तिको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ। घटनापछि इन्दल फरार रहँदै आएका थिए। लामो समयदेखि फरार रहेका इन्दललाई इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरसँगको समन्वयमा प्रहरीले लालबन्दी नगरपालिका – २ बाट पक्राउ गरेको हो।

पक्राउपछि इलाका प्रहरी कार्यालय हरिपुरबाट अनुसन्धान पूरा गरी उनलाई मंगलबार सर्लाही जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतको आदेशअनुसार इन्दललाई पुर्पक्षका लागि सर्लाही कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन्।

प्रहरीका अनुसार इन्दल यसअघि हातहतियार तथा खरखजाना मुद्दामा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन्। उनीविरुद्ध महोत्तरी र धनुषामा चोरी तथा डाँका सम्बन्धी मुद्दासमेत चलेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार