सर्लाही – धनुषाको मिथिला नगरपालिका–३ लालभित्तीस्थित औरही खोला किनारमा सञ्चालित क्रसर उद्योगमा टिपर दुर्घटना हुँदा उद्योग सञ्चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा क्रसर उद्योग सञ्चालक ३८ वर्षीय हरी महतोको ज्यान गएको हो ।
प्रहरीका अनुसार उद्योग परिसरभित्र ग्राभेल लोड गरिएको टिपर अचानक पल्टिएको थियो । टिपर पल्टिँदा महतो ग्राभेलमा पुरिएका थिए । गम्भीर घाइते अवस्थामा उद्धार गरिएका उनलाई तत्काल उपचारका लागि जनकपुरस्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो ।

तर, उपचारकै क्रममा चिकित्सकले महतोलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक जना पनि गम्भीर घाइते भएका छन् । उनको परिचय र स्वास्थ्य अवस्थाबारे प्रहरीले थप विवरण सार्वजनिक गरिसकेको छैन ।
दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाबारे अनुसन्धान थालेको छ । टिपर पल्टिनुको कारण र दुर्घटनाको वास्तविक अवस्थाबारे अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।





