सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै आफूहरूले कांग्रेस त्यत्तिकै नछाडेको बताएका छन्।
कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा थापाले रास्वपालाई चुनावमा मत मात्रै नभई प्रशिक्षित नेतासमेत कांग्रेसले दिएको बताएका थिए। त्यसको जवाफ दिँदै कांग्रेस परित्याग गरेर रास्वपामा पुगेका सिंहले कांग्रेसभित्रको नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।

सिंहले सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै पार्टी छाड्नुको कारण कांग्रेस नेतृत्वकै कार्यशैली भएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘नयाँ पार्टीका सभापतिज्यू, यत्तिकै पार्टी छोडेर गएका होइनन्। तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्।’
सिंहले कांग्रेसले आफूलाई लोकतन्त्रको आन्दोलनको नेतृत्व गर्ने पार्टीका रूपमा प्रस्तुत गर्दै आए पनि अहिलेको अवस्थाको जिम्मेवारीसमेत लिनुपर्ने बताएका छन्।
‘नाक फुलाएर लोकतन्त्र ल्याउने पार्टी भनेर गर्व गर्नुभयो। तर प्रश्न यो हो– त्यही लोकतन्त्रका लागि लडेको पार्टीलाई आज यो हालतमा पुर्याउने जिम्मेवारी कसको हो ?’ उनले प्रश्न गरेका छन्।
उनले कांग्रेसको इतिहास र योगदानको मात्रै चर्चा गरेर वर्तमान अवस्थाबाट पन्छिन नमिल्ने तर्क गरेका छन्। इतिहासको गौरवसँगै अहिले पार्टी कमजोर बन्दै जानुको जिम्मेवारी पनि नेतृत्वले लिनुपर्ने उनको भनाइ छ।
‘लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैँ भत्काउने यो भन्दा ठूलो विडम्बना अरू के होला ?’ सिंहले प्रश्न गरेका छन्।





