सर्लाहीमा मोटरसाइकल दुर्घटनामा घाइते युवक पेस्तोलसहित पक्राउ

२०८३ आश्विन १९, सोमबार १२:४२

मलंगवा – सर्लाहीको कबिलासी नगरपालिका – ३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ। प्रहरीले पेस्तोलसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार सोमबार राति करिब १ बजे जनकपुरबाट मदनपुरस्थित आफ्नो घरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ३० वाई २८५३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा कबिलासी नगरपालिका – ३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका थिए। उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको साथमा रहेको सिक्सर पेस्तोल एक थान फेला पारेको थियो।

प्रहरीले उक्त पेस्तोल बरामद गरी ठाकुरलाई पेस्तोलसहित नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार