सर्लाही – रौतहटमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १२ थान मोबाइल फोनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटको बोर्डर एक्सन टिम र भन्सार सुरक्षा गार्डबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा सोमबार गौर नगरपालिका–१ स्थित भन्सार कार्यालयको गेटअगाडि चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको यात्रुवाहक टाटा सुमोको छतमा राखिएको आलुको बोराभित्र लुकाएर ल्याइएका १२ थान मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ।
मोबाइलसहित भारतको सीतामढी जिल्ला, असोगी ग्राम वडा नं. ४ निवासी करिब ४१ वर्षीय अमरनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बरामद मोबाइलको अनुमानित मूल्य करिब २ लाख रुपैयाँ रहेको छ।
पक्राउ परेका चौधरी तथा बरामद मोबाइलसहितका सामानलाई आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





