मलंगवा – सर्लाहीको गोडैतामा घरबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका – ८ का नरेश मिश्राको दुई तले पक्की घरबाट सुनचाँदीका विभिन्न गरगहना चोरी भएको थियो।
घरको माथिल्लो तलाको सिसाको झ्याल खुला रहेको अवस्थामा चोर घरभित्र प्रवेश गरी दराज र सुटकेशमा राखिएका गरगहना चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चोरी भएका गरगहनाको अनुमानित मूल्य करिब ५ लाख ८७ हजार २ सय रुपैयाँ रहेको थियो। चोरीको सूचना प्राप्त भएपछि प्रहरी चौकी गोडैताबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको थियो।
खोजतलासका क्रममा आईतबार गोडैता नगरपालिका क्षेत्रबाट चोरीमा संलग्न रहेको आरोपमा तीन जना नाबालक र चोरीका सामान खरिद गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट चोरी भएका भनिएका विभिन्न गरगहनासमेत बरामद गरिएको छ।
प्रहरीले बरामद गरेका सामानमा चाँदीजस्तो देखिने पायल दुई थान, सुनजस्तो देखिने जितिया चार थान, सुनजस्तो देखिने औँठी एक थान, चाँदीजस्तो देखिने ठेसा दुई थान, लक्ष्मीको फोटो भएको चाँदीजस्तो देखिने सिक्का एक थान, चाँदीजस्तो देखिने हनुमानी एक थान तथा पहेँलो रंगको सुनजस्तो देखिने लेडिज औँठी एक थान रहेका छन्।
पक्राउ परेकाविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





