सर्लाही – महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयका सर्भेक्षक शिवकुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले साहविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। जग्गाको ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई निगरानीमा राखेको थियो।

सोही क्रममा साहले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ। घटनापछि गरिएको अनुसन्धानबाट साहले सेवाग्राहीको काम गरिदिने भन्दै घुस रकम लिएको पुष्टि भएको अख्तियारको दाबी छ।
अनुसन्धानबाट कसुर पुष्टि भएपछि उनलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। आयोगले साहविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गर्दै सोही बराबरको जरिवाना तथा प्रचलित कानुनबमोजिम थप सजाय मागदाबी गरेको जनाएको छ।





