हेटौँडामा ५२ थान नागरिकतासहित रौतहटका तीन युवक पक्राउ

२०८३ आश्विन २३, शुक्रवार १९:५६

सर्लाही – ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरू बस्दै आएको कोठाबाट विभिन्न व्यक्तिका नाममा जारी नागरिकता प्रमाणपत्रका ५२ वटा प्रतिलिपि, ४३ वटा सिमकार्ड र अन्य व्यक्तिका नाममा रहेका चार वटा चेकबुक बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरास्थित रामबहादुर पोखरेलको घरमा खानतलासी गरेको थियो। उक्त घरमा कोठा भाडामा लिएर बस्दै आएका व्यक्तिहरू आपराधिक गतिविधिमा संलग्न रहेको विशेष सूचना पाएपछि प्रहरीले कारबाही अघि बढाएको हो।

प्रहरीले खानतलासीका क्रममा रौतहटको कटहरिया नगरपालिका–८ निवासी १९ वर्षीय अजयकुमार यादव, १९ वर्षीय पवनकुमार दास र बौधिमाई नगरपालिका–६ निवासी २१ वर्षीय रोशन राय यादवलाई पक्राउ गरेको जनाएको छ।

उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा रहेका नागरिकता प्रमाणपत्रका ५२ वटा प्रतिलिपि, प्रयोग भइसकेका एनसेलका २२ वटा सिमकार्ड, सिलप्याक अवस्थामा रहेका थप २१ वटा सिमकार्ड तथा अन्य व्यक्तिका नाममा रहेका चार वटा चेकबुक फेला परेका छन्।

बरामद सामग्रीबारे सोधपुछ गर्दा पक्राउ परेका व्यक्तिहरूले सिमकार्ड कहाँबाट प्राप्त गरेका हुन् र ती कुन प्रयोजनका लागि प्रयोग गरिएका थिए भन्ने विषयमा स्पष्ट जानकारी दिन नसकेको प्रहरीको भनाइ छ।

विभिन्न व्यक्तिका नागरिकताका प्रतिलिपि, ठूलो संख्यामा सिमकार्ड र अरूकै नाममा रहेका चेकबुक एकै ठाउँबाट बरामद भएपछि प्रहरीले ती सामग्रीको प्रयोजनबारे अनुसन्धान थालेको छ। ती कागजात तथा सिमकार्ड ठगीमा प्रयोग गर्न खोजिएको थियो वा अन्य कुनै प्रयोजनका लागि राखिएको थियो भन्ने विषय अनुसन्धानबाट खुल्न बाँकी छ।

प्रहरीले बरामद सामग्रीसहित तीनै जनालाई नियन्त्रणमा राखेर ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार