मलंगवा – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर – मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार बिहान करिब ८:१५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ना.१ ज ६३०८ नम्बरको म्याजिक जिपले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२-०१० प २२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मलंगवा नगरपालिका – ७ गणेशियाका ३० वर्षीय अरविन्द साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ९:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि म्याजिक चालक हरिपुर नगरपालिका–२ हरिपुर बजार निवासी ३३ वर्षीय नजामुदिन बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





