सर्लाही – बाराको सिम्रौनगढमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
सिम्रौनगढ नगरपालिका – ९ बसवरियास्थित नहर सडकखण्डमा सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०५ एएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा साइकलको पछाडि सवार सिम्रौनगढ नगरपालिका–६ निवासी सबु मोहम्मदकी श्रीमती अन्दाजी ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा साइकल चालक अन्दाजी ४० वर्षीय सबु मोहम्मद घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।
त्यस्तै, मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी बिगु महतोका अन्दाजी २५ वर्षीय छोरा अजय महतो र मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी २२ वर्षीय विवेक महतो पनि घाइते भएका छन्। दुवैको अवस्था गम्भीर रहेको बताइएको छ।
उनीहरूलाई प्रादेशिक अस्पताल कलैयामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नारायणी न्युरो अस्पताल वीरगन्ज रिफर गरिएको छ। अजयलाई राति ७ः५० बजे थप उपचारका लागि वीरगन्ज पठाइएको जनाइएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वा, बाराको नियन्त्रणमा रहेका छन्। यस सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।





