सर्लाही – सामाजिक सञ्जाल फेसबुकमा खुकुरी प्रदर्शन गर्दै डरत्रास फैलाउने प्रकृतिको तस्बिर सार्वजनिक गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका – १३ धाताटोल निवासी १८ वर्षीय सुमन पटेल रहेका छन्। उनलाई आइतबार साँझ आफ्नै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी देखाइएको तथा डरत्रास फैलाउने आशयको तस्बिर अपलोड गरेको आरोप छ।
उक्त घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। नियन्त्रणमा लिइएका पटेलमाथि अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।





