सर्लाही – अनलाइन माध्यमबाट बैंक तथा ईसेवाका कर्मचारी भएको भन्दै केवाईसी ( ग्राहक पहिचान विवरण ) अद्यावधिक गर्ने बहानामा ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको बैरगनिया घर भई गौर नगरपालिका – ३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका – ५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।

प्रहरीका अनुसार असोज २३ गते अपराह्न करिब ४ बजे खटिएको प्रहरी टोलीले गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नं. ५ को कोईरी टोलबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले विभिन्न बैंक तथा ई–सेवाका कर्मचारी भएको परिचय दिँदै सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्ने गरेको खुलेको छ।
केवाईसी अद्यावधिक गर्नुपर्ने बहाना बनाई सेवाग्राहीलाई मोबाइलको स्क्रिन साझा गर्न लगाउने र एकपटक प्रयोग गर्न मिल्ने गोप्य सङ्केत (ओटीपी) लगायतका बैंकिङ विवरण प्राप्त गरी उनीहरूको बैंक तथा डिजिटल वालेट खाताबाट अनधिकृत रूपमा रकम स्थानान्तरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरिएको छ। यस्तै, मोबाइल फोन सात थान, सिमकार्ड ११ थान, विभिन्न बैंक तथा वित्तीय संस्थाका रकम जम्मा गर्ने भौचर ३० थान, एटीएम कार्ड तीन थान र चेक दुई थान बरामद गरिएको छ।
बरामद गरिएका चेकमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँको र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक रहेको छ। त्यसैगरी, चेकबुक, डायरी, कापी, पेनड्राइभ, मेमोरी कार्ड तथा बैंकिङ विवरण लेखिएका पर्चालगायतका सामग्री पनि प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार केवाईसी अद्यावधिक गर्ने बहानामा हालसम्म ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ। पक्राउ परेका तीनै जनामाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





