सर्लाही – सर्लाहीबाट काठमाडौं जाँदै गरेको टाटा सुमो गाडीबाट लागू औषध नाइट्राजेपाम ३ हजार ट्याब्लेट र ट्रामाडोल १२६ ट्याब्लेट बरामद भएको छ। लागू औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २३ गते दिउँसो करिब ३ः४५ बजे दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा चेकजाँच गर्ने क्रममा ना १ ज ३६१९ नम्बरको टाटा सुमो गाडीबाट उक्त लागू औषध बरामद गरिएको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – १४ घर भएका २२ वर्षीय अनन्त चौधरी र नुवाकोट जिल्लाको तादी गाउँपालिका–६ घर भएकी २२ वर्षीया ईसिका थापालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागू औषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।





