न्यायाधीश रणबहादुर बम हत्याका सुटर बाबु थापा सर्लाहीमा पक्राउ, साथबाट पेस्तोल र गोली बरामद

२०८३ आश्विन २९, बिहिवार १२:५४

मलंगवा – जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणका दोषी बाबु थापालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई बुधबार राति बागमती नगरपालिका – स्थित मिलनचोकमा रहेको आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार, जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थापा त्यसयता भारत तथा नेपालका विभिन्न स्थानमा लुकेर बस्दै आएका थिए। उनी घरमा आएको सूचना पाएपछि प्रहरीले निगरानी बढाउँदै पक्राउ गर्न संयुक्त टोली परिचालन गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मलंगवा, इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

साथबाट दुई थान पेस्तोल र १५ राउन्ड गोली बरामद
प्रहरीले पक्राउ परेका थापाको साथबाट दुई थान पेस्तोल र १५ राउन्ड गोली बरामद गरेको जनाएको छ। बरामद हतियार तथा गोलीका सम्बन्धमा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी पौडेलका अनुसार थापाविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा सर्लाही जिल्ला अदालतमा मुद्दा प्रक्रिया अगाडि बढाइनेछ।

न्यायाधीश बम हत्या प्रकरणमा जन्मकैदको सजाय भुक्तान गर्दै थिए थापा
चुरे भावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्षसमेत रहेका थापा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भएका व्यक्ति हुन्। न्यायाधीश बमको २०६९ जेठ १८ गते हत्या भएको थियो।

उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थापालाई २०७१ सालमा पक्राउ गरी अदालतमा पेस गरेको थियो। अदालतबाट दोषी ठहर भएपछि उनी जन्मकैदको सजाय भुक्तान गर्न केन्द्रीय कारागारमा रहेका थिए। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापा लामो समयपछि आफ्नै घरबाट पक्राउ परेका हुन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार