सर्लाही – बडादसैँअन्तर्गत दुर्गा पक्षको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले दसैँ घर तथा पूजा कोठामा देवीको आह्वान गरी श्रद्धा र भक्तिपूर्वक पूजा गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार कात्यायनी नवदुर्गामध्ये छैटौँ स्वरूप हुन्। पौराणिक कथनअनुसार देवकार्य पूरा गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कन्याका रूपमा प्रकट भएकी थिइन्। उनको बालसौन्दर्यबाट प्रभावित ऋषिले पुत्रीका रूपमा स्वीकार गरेपछि उनको नाम कात्यायनी रहन गएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ।

कात्यायनी देवीलाई शक्ति, साहस र दुष्ट शक्तिको विनाशको प्रतीकका रूपमा लिइन्छ। नवरात्रको यस दिन भक्तजनले देवीको पूजा आराधना गर्दै सुख, समृद्धि, शक्ति र कल्याणको कामना गर्ने धार्मिक विश्वास रहेको छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै नौ दिनसम्म नवदुर्गाका विभिन्न स्वरूपको पूजा गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा गरिन्छ। छैटौँ दिन कात्यायनी देवीको आराधना गरिन्छ भने त्यसपछि क्रमशः कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने विधान छ।
नवरात्रभर घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्रको पाठ गर्ने प्रचलन छ। श्रद्धापूर्वक देवीको उपासना गर्दा शक्ति, ऐश्वर्य, विद्या र मनोकामना प्राप्त हुने धार्मिक विश्वासका कारण यस अवधिमा मठमन्दिर तथा घरघरमा विशेष पूजाआजा गरिन्छ।
नवरात्रमा पूजा गरिएको जमरा र टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। यद्यपि, कतिपय समुदायमा कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका तथा जमरा लगाउने प्रचलन पनि रहेको छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउन सकिन्छ। यही धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै नेपालीहरूले बडादसैँलाई श्रद्धा, आस्था र पारिवारिक जमघटका साथ मनाउने गर्छन्।





