१५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेस सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीले दिए राजीनामा

२०८३ आश्विन ३०, शुक्रवार १५:४०

सर्लाही – मधेस प्रदेशमा सत्ता समीकरण फेरिएको छ। सरकार गठनका बेला सत्तारुढ दलबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले शुक्रबार प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएका हुन्।

मुख्यमन्त्री यादव नेतृत्वको सरकार गठनका क्रममा सत्तारुढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएकाले समर्थन फिर्ता लिनुपरेको एमालेले जनाएको छ। एमालेले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा समेत सहमति कार्यान्वयन नभएको विषयलाई समर्थन फिर्ताको मुख्य कारणका रूपमा उल्लेख गरेको छ।

एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारमा सहभागी पार्टीका चार मन्त्रीले पनि पदबाट राजीनामा दिएका छन्। राजीनामा दिनेमा भौतिकमन्त्री महम्म्द समिर, खेलकुदमन्त्री लखनदास तत्मा, श्रममन्त्री शारदा थापा र शिक्षामन्त्री मनोज कुमार सिंह रहेका छन्। उनीहरूले शुक्रबार नै मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका हुन्।

एमालेको समर्थन फिर्ता र चार मन्त्रीको बहिर्गमनसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार राजनीतिक दबाबमा परेको छ। सरकार गठनका बेला भएको सहमति कार्यान्वयनको विषयले सत्तारुढ दलबीच दूरी बढाएको देखिएको छ।

अब एमालेको समर्थन फिर्तापछि प्रदेशसभामा सरकारको बहुमतको अवस्था कस्तो रहन्छ भन्ने विषयले मधेस प्रदेशको आगामी राजनीतिक समीकरण निर्धारण गर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार