सर्लाही – काठमाडौँ उपत्यकामा अवैध रूपमा भण्डारण गरी बिक्री वितरण गर्न राखिएको २२ क्विन्टलभन्दा बढी पटका तथा आतिसबाजीजन्य विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कागेश्वरी मनोहरा क्षेत्रमा गैरकानुनी रूपमा पटका तथा आतिसबाजीजन्य सामग्री भण्डारण र बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले असोज २९ गते छापा मारेको थियो।

प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७, हरहर महादेवस्थित रौतहटका नन्दनलाल राय यादवले सञ्चालन गरेको कवाडी गोदाममा खानतलासी गर्दा ६३ बोरा तथा कार्टुनमा राखिएका २ हजार २५० दशमलव १३ किलोग्राम अर्थात् करिब २२ दशमलव ५ क्विन्टल प्रतिबन्धित पटका बरामद गरेको जनाएको छ।
बरामद सामग्रीमा च्याम्पियन इलेक्ट्रिक स्पार्कल्स, किङ कोब्रा, क्याप्टेन डिलक्स चक्कर, रकेट बम, हाइड्रो बम, फ्लावर पट्स स्पेसल, एभरेष्ट लुनिक रकेट, रोल क्याप्स, कलर कोटी र सिंगल रकेटलगायत विभिन्न ब्रान्डका पटका तथा आतिसबाजीजन्य विस्फोटक पदार्थ रहेका छन्।
पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–५ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ४० वर्षीय ननदन राय यादव, सर्लाहीको गोडैता नगरपालिका–११, सिसैटिया घर भई कागेश्वरी मनोहरा–७, काँडाघारी बस्ने ३३ वर्षीय विजय प्रसाद यादव, सर्लाहीको बागमती नगरपालिका–२ घर भई काँडाघारी बस्ने ३४ वर्षीय अञ्जय चौधरी र सर्लाहीको बरहथवा नगरपालिका–१३ घर भई कागेश्वरी मनोहरा–७ बस्ने १९ वर्षीय कोश कुमार साह रहेका छन्।
पक्राउ परेका चारै जनाविरुद्ध विस्फोटक पदार्थ भण्डारण तथा बिक्री वितरण गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई काठमाडौँ जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।





