सर्लाही – सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीमा जग्गाको सिमाना सम्बन्धी विवादका क्रममा धकेलिँदा एक वृद्धको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शनिबार बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानाको विषयलाई लिएर विवाद भएको थियो। विवाद चर्किँदै जाँदा रघुनन्दनले तेतरलाई धकेलेका थिए।

धकेलिएका तेतरको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाको जानकारी स्थानीयबाट प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनास्थल सुरक्षित राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा रघुनन्दन रायलाई नियन्त्रणमा लिई घटनाको कारण तथा परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





