जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

२०८३ कार्तिक १, आइतवार १२:२१
एक आपसमा ठोक्किँएका मोटरसाइकल (फाईल तस्बिर)

सर्लाही – जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गएराति भएको दुर्घटनामा मोटरसाइकल चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा सुजितले चलाएको मोटरसाइकलमा सवार बलराम यादव घाइते भएका छन् । त्यस्तै, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ निवासी २० वर्षीय रामपुकार यादव र सोही ठाउँका अखिलेश यादव पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल कसरी ठोक्किए भन्नेबारे विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार