सर्लाही – बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
आइतबार बिहान करिब ११ः३० बजे बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर १९ जी ९९२१ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००५ प ८८५५ नम्बरको मोटरसाइकललाई महागढीमाई नगरपालिका – १ स्थित प्लाई फ्याक्ट्री चोकमा ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–२१ निवासी अन्दाजी १७ वर्षीय धिरज यादव, मोटरसाइकलमा सवार भोडहा निवासी अन्दाजी १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव घाइते भएका थिए।
दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइते तीनै जनालाई उपचारका लागि एलएस न्युरो अस्पताल पठाएको थियो। उपचारका क्रममा चालक धिरज यादवको बिहान ११ः५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न स्कारपियो र त्यसका चालक रौतहटको परोहा नगरपालिका–३ निवासी अन्दाजी ३८ वर्षीय अरुणकुमार दुबेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





