धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

२०८३ कार्तिक २, सोमवार ०९:००
सांकेतिक तस्बिर

सर्लाही – धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

धनुषाधाम–सबैला भित्री सडकखण्डमा गएराति भएको दुर्घटनामा धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको हो।

प्रहरीका अनुसार सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले मखनाहामा ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मण्डललाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार १६ वर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका–२ निवासी २० वर्षीय राकेश मण्डल घाइते भएका छन्। घाइतेमध्ये निरजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न बस र चालक धनुषाधाम नगरपालिका–२ निवासी २२ वर्षीय नागेन्द्र महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार