एम्बुलेन्सबाट साँढे पाँच क्विन्टल भन्दा बढी गाँजा बरामद, चालक फरार

२०८३ कार्तिक २, सोमवार १६:४४
सांकेतिक तस्बिर

सर्लाही – सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। प्रहरीले एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा फेला पारेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्ग हुँदै इटहरीबाट विराटनगरतर्फ एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा रहेको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो।

प्रहरीले गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। गाँजा फेला परेपछि एम्बुलेन्स छाडेर फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार