सर्लाही – महोत्तरीको जलेश्वर नगरपालिका–६, बडका धबौलीस्थित रातो नदीमा एक पुरुषको शव फेला परेको छ। शव फेला परेका पुरुषको उमेर अन्दाजी ३५ वर्ष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनाबारे सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक मुचुल्कासहितका कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, जलेश्वर पठाइएको छ। हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
नदीमा पुरुषको शव भेटिनुको कारण तथा घटनाको परिस्थितिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।





