सर्लाही – महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा ईभीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र २–०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा ९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका–११ घर भई हाल बर्दिबास नगरपालिका–१ गालटार बस्दै आएका ४० वर्षीय सुजनबहादुर मगर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएकोमा मंगलबार दिउँसो १ बजेर ४२ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा सवार मगरकी श्रीमती ३५ वर्षीया फुलकुमारी थापा र तीन वर्षीया छोरी सिसाकुमारी थापा पनि गम्भीर घाइते भएका छन्। फुलकुमारीको शरीरको भित्री भागमा चोट लागेको छ भने छोरी सिसाकुमारीको टाउकोमा चोट लागेको छ।
त्यस्तै, स्कुटर चालक सिन्धुलीको दुधौली नगरपालिका–३ ढुंगाटोल निवासी २४ वर्षीय रमेश चौधरी मध्यम घाइते भएका छन्। घाइते तीनै जनाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि ईभी सडकबाट करिब १० फिट तल खसेको थियो। ईभीमा सवार अन्य यात्रु भने सकुशल रहेको र घटनापछि आ–आफ्नो गन्तव्यतर्फ गएको जनाइएको छ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन घटनास्थलमै रहेका छन्। ती सवारीसाधन हटाउने पहल भइरहेको छ। दुर्घटनापछि ईभी चालक फरार भएका छन्। प्रहरीले चालकको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको छ। ईभीका सहचालक सप्तरीको राजविराज नगरपालिका–७ निवासी करिब २२ वर्षीय मिलन साह भने इलाका प्रहरी कार्यालय बर्दिबासको सम्पर्कमा रहेको जनाइएको छ।





