क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ५ जना पक्राउ

२०८३ कार्तिक ५, बुधबार १५:२५

सर्लाही – वीरगञ्जमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा छापा मार्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे गरिएको छापा कारबाहीका क्रममा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने गतिविधि भइरहेको पाइएको थियो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये चार जना बारा जिल्लाका र एक जना रौतहट जिल्लाका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।

नेपालको प्रचलित कानुनी व्यवस्थाले क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने कार्यलाई प्रतिबन्ध लगाएको छ। सोही व्यवस्थाविपरीत गतिविधि भएको आरोपमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार