साउदी अरबमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

२०८३ कार्तिक ६, बिहीबार ०७:४९

काठमाण्डौं – साउदी अरबको पूर्वी प्रान्तमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको प्रयास हुँदा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ।

घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान साउदी अराम्कोको परियोजनाअन्तर्गत सञ्चालित तेल प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमणको प्रयास गरिएको थियो।

उक्त घटनामा एक नेपाली र एक प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका हुन् भने एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन्। घटनामा मृत्यु भएका नेपाली श्रमिकको नाम, स्थायी ठेगाना तथा अन्य व्यक्तिगत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।

ऊर्जा मन्त्रालयका अनुसार तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी अरबको हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो। ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा कार्यरत ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो।

आगलागी तेल प्रशोधन केन्द्रको सुरक्षा परिधिबाहिर भएको जनाउँदै मन्त्रालयले घटनाका कारण तेल क्षेत्रको नियमित सञ्चालनमा कुनै असर नपरेको स्पष्ट पारेको छ। घटनामा नेपाली नागरिकको समेत मृत्यु भएपछि उनको पहिचान र परिवारसम्बन्धी विवरण सार्वजनिक हुन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार